काठमाडौँ, २६ कार्तिक । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ ।
कतार एअरवेजले भोलि मङ्गलवारदेखि दोहा–भैरहवा– काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँका लागि उड्नेछ । यही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् ।
भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्