जाजरकोट, २६ कार्तिक । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा २८ जना घाइते भएका छन् ।
आज बिहान करिब १२ बजेतिर भेरी नगरपालिका–१३ कदुमा भएको फोर्स गाडी दुर्घटनामा २५ जना घाइते भएका छन् भने उक्त जिल्लाकै बाउसेखोलामा भएको दुर्घटनामा तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो । कुदु मध्यपहाडी लोकमार्गको जिरो प्वाईन्ट अन्तर्गत पर्दछन् ।
प्रहरीको इन्ट्रीमा २१ जना देखाएपनि बिचमा अन्य यात्रुहरू थपेको प्रहरीले जनाएको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ । उक्त फोर्समा घाइतेहरूमध्ये केहीलाई कुदुको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते तीन जनालाई सदरमुकाम खलंगा लगिएको छ ।
यस्तै बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ को बाउसेखोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्