राजनीति

दीपक मनाङे कारागार चलान



काठमाडौँ, २७ कार्तिक । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् । 

आज काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

२०६१ वैशाख ३१ गते काठमाडौँमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यही कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।