मनोरञ्जन

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’



काठमाडौँ, २८ कार्तिक । मण्डला थिएटरमा केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ ।

शनिबारबाट यो नाटक मञ्चन भइरहेको हो । मानवीय संवेदना, सहअस्तित्व र प्रेम समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको हो ।

नाटकलाई दयाहाङ राईले निर्माण गरेका हुन् । नाटकमा कलाकार मेनुका प्रधान र कार्मको अभिनय रहेको छ ।
नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सन्तान चाहनाको उत्कट उत्साह संगालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को कथा हो ।