Banner News

जनताको घरघरमा जान नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौँ, २८ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घरघर, टोलटोल, व्यक्ति व्यक्तिलाई भेट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज कीर्तिपुरमा उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उनले स्थानीय तह उपनिर्वाचनलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन् । विगतमा माओवादीबाट केही कमीकमजोरी भएपनि सत्तामा बसेर देश र जनताको पक्षमा राम्रो काम गरेको प्रचण्डले दाबी गरे । 

उनले भने, ‘हामी जनताको मुक्तिको लागि नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ । हामी आफै बदलिन चाहन्छौँ’, प्रत्येक जनताको घरघर, टोलटोल र व्यक्ति व्यक्तिलाई भेट्न जरुरी छ । त्यसरीमात्र हामीले चुनावी परिणाम हासिल गर्न सक्छौं । आत्माआलोचनासहित प्रत्येक व्यक्तिलाई भेट्न सबैलाई अपिल गर्दछु ।’