धनुषाधाम, २९ कार्तिक । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख दर्द दुर गर्न सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
बुधबार गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा आँखा उपचार केन्द्र उद्घाटन गर्दै उनले वर्तमान सरकारले सोहीअनुरुप काम गरिरहेको उनले बताए । प्राथमिकताका आधारमा जनताको पिरमर्का, सवाल र मुद्दा पहिचान गरी सम्बोधन गर्नेतर्फ सरकार अगाडि बढिरहेको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको केन्द्रबाट अधिकतम सेवा उपभोग गर्न सर्वसाधारणलाई उनले आग्रह गरे ।
राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवं जसपा नेपालका नेता दीपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सञ्चालन गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना साकार गरिदिन उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण गराए । उनीहरुले मधेसमा सिँचाइको उचित व्यवस्था गरिदिन पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्