काठमाडौँ, २९ कार्तिक । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ ।
गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतले स्वीकृती दिइसकेकोले शुक्रबार नेपाल, भारत र बंगलादेशका तीन जनै ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
शुक्रबार करिब ११ घण्टामात्रैं बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रूपैयाँ आम्दानी गर्ने छ । बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने छ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । साेहीअनुसार नेपालले यस वर्ष शुक्रबार मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नाेभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्