राजनीति

कानुन निर्माणमा समयसीमा तोक्न संसद्लाई सरकारको आग्रह



काठमाडौँ, १ मंसिर । सरकारले कानुन निर्माणको ढिलासुस्ती हटाउनका लागि विधेयक पारित गर्ने समयसीमा तोक्न संसद्लाई आग्रह गरेको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा भइरहेको ढिलासुस्ती हटाउन संसद्मा समयसीमाको प्रस्ताव गरेका हुन् ।

सरकारले कुनै विधेयक सदनमा पेस गरिसकेपछि त्यसलाई समयसीमामा बाँधेर विधायनको प्रक्रिया पूरा गर्नुपर्ने गृहमन्त्री लेखकले बताए । विधायन प्रक्रिया समयसीमा नबाँधिएकाले समयमै विधेयकहरू अगाडि बढ्न नसकेको उनको भनाइ थियो । ‘विधेयकको चरणलाई समयमा बाँध्नुपर्छ,’ उनले भने, ‘विधेयक दर्ता भएपछि यति दिनभित्र अनुमति माग्नुपर्ने, सैद्धान्तिक छलफल हुनुपर्ने, यति दिनभित्र समितिबाट प्रतिवेदन पेस गरी सदनमा आइसक्नुपर्ने भनेर समय तोकेर जाने व्यवस्था गरौं ।’

यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली संशोधन गरे पुग्ने लेखकले बताए । ‘समयसीमा तोकिएन भने जवाफ दिन गाह्रो हुने ठाउँमा पुग्छौं । यो नगरी नहुने भएको छ,’ उनले भने, ‘यस विषयमा निर्णय गर्ने कुरा सम्मानित सदनको हो । मैले यो राय प्रस्तावका रूपमा राखें ।’ मन्त्रिपरिषद्मा विधायन समितिका संयोजक पनि गृहमन्त्री लेखक हुन् ।