राजनीति

चितवन कांग्रेसको १०० दिने अभियान पुनः सुरु



चितवन, १ मंसिर । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः सुरु गरेको छ ।

कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।  

असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आइसकेका छन् । 

केन्द्रीय प्रतिनिधिका रुपमा आएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उनले बताए ।

खटाइएका प्रतिनिधिले मङ्सिर १० गते एकैपटक सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्ने छन् । यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समितिलगायतका संरचनाको बैठक भेलालगायत काम सञ्चालन गरिनेछ । यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।