काठमाडौँ, ३ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ ।
छलफलमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाव दिनुभएको छ ।
मन्त्री भट्टराईले प्रभावकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिदै कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिन आग्रह गर्नुभयो ।भट्टराईले नागरिकका मौलिक हक पूरा गर्ने गरी विज्ञान र समाजलाई जोडेर काम गर्नआग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन शुरूवात गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजना सहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफल गरी समस्या समाधान गर्न सबैलाई सचेत समेत गराउनुभएको छ ।
शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्व वावु पुडासैनीले सचिव र सहसचिवबीच भएको सम्झौतालाई समेत कार्यक्रम कार्यान्वयनको उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिनुभयो ।
प्रगति समीक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगति माथी छलफल भएको थियो। समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समीक्षा भएको जनाइएको छ । बैठकमा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी सुधार एवम् योजना बारेमा विस्तृत छलफल समेत भएको मन्त्रालय स्रोतले उल्लेख गरेको छ । समितिको अर्को बैठक २०८१ माघ २० गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्