काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा कायम भएका मतदानस्थल, केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको हो । मंसिर १६ मा जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । आयोगका अनुसार ती पदका लागि ४१० जना चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारीसाधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।
यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मतसम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदातासमक्ष पुर्याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्ने/नगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।
त्यस्तै आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
आयोगले उपनिर्वाचनलाई उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान कार्य सकिएपछि सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ । उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्णपालना गर्न/गराउन, आचारसंहिता पालना भए/नभएको अनुमगन गर्न र निषेधित कार्य भए/गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले निर्देशन दिएको छ ।
मंसिर ५ देखि मतगणना नसकिएसम्म उपनिर्वाचन हुने पालिकाभित्र मदिराजन्य पदार्थ बिक्री र सेवन नियन्त्रण गर्न र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्