समाचार

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध



काठमाडौँ, ४ मंसिर । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ ।

चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 

आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उनले भने, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्छौँ ।”