काठमाडौँ, ५ मंसिर । नेपाल भित्रिने रेमिट्यान्सले गत असोजमा नयाँ रेकर्ड बनाएको छ । असोजमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजमा एकै महिना १ खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा नेपाल आएको रेमिट्यान्सको तथ्यांकमा यो हालसम्मकै उच्च हो ।
यसअघि ०८० असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरको भाउ वृद्धि, वैदेशिक रोजगारका लागि बिदेसिने नेपालीको संख्या वृद्धि र विश्व अर्थतन्त्र सुधारोन्मुख रहेकाले नेपालीको आम्दानी बढेका कारण रेमिट्यान्समा बढोत्तरी देखिएको जानकार बताउँछन् ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोजसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो । राष्ट्र बैंकका अनुसार पछिल्लो १७ महिना यता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।
सोही क्रममा गत असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको हो । रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने शोधनान्तर बचत र चालु खाता बचत पनि थुपि्रँदै गएको छ । विदेशी मुद्राका अन्य स्रोतहरू निर्यात, पर्यटन, विदेशी लगानी, वैदेशिक सहायतालगायत सूचकको अवस्था निराशाजनक छ । तर रेमिट्यान्स मात्र लगातार बढिरहेकाले चालु खाता, शोधनान्तर बचतलगायत सूचकलगायत सूचक पनि लगातार बचतमा रहेको जानकार बताउँछन् ।
यसरी रेमिट्यान्समा आएको वृद्धिले अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर बढिरहेको राष्ट्र बैंकका अधिकारी स्वीकार गर्छन् । बढ्दो विनिमय सञ्चितिले सरकार र निजी क्षेत्रलाई लगानी बढाउन राम्रो अवसर दिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘विदेशी विनियम सञ्चितिसँगै अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर सबल बन्दै गएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । स्वदेशमा ब्याजदर पनि न्यून छ,’ उनले भने, ‘यो सरकारी र निज क्षेत्रलाई लगानी विस्तारको अझ राम्रो अवसर हो ।’
अर्थतन्त्रका सूचकहरूले अहिले लगानी विस्तारका लागि राम्रो अवसर दिएकाले त्यसको भरपुर उपयोग गर्नुपर्ने उनको भनाइ छ । अहिले लगानी विस्तार हुन सके शिथिल देखिएका उद्योग र निर्माण क्षेत्रमा पनि सुधार आउन सक्छ भने सम्भावना भएका यातायात, थोक तथा खुद्रा व्यापार क्षेत्र पनि थप चयालमान बन्न सक्ने उनको भनाइ छ ।
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब नाघ्यो
मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । गत असार महिनाको तुलनामा यो ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार ०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । यो पनि हालसम्मकै धेरै हो । पछिल्ला हरेक महिनामा विदेशी मुद्रा सञ्चितिले पनि हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले यस वर्ष कम्तीमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राखेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा ०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । ०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
शोधनान्तर बचत पौने २ खर्ब
गत असोजमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा छ ।
यसैगरी, गत असोजसम्म चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको असोजमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा ८३ करोड ४० लाखले बचतमा छ । गत असोजसम्म प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्