काठमाडौँ, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
उनले भने –’दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन । ‘
उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए । उनले भने– ‘एमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।’
प्रतिक्रिया दिनुहोस्