राजनीति

राजस्व संकलन बढ्यो



काठमाडौँ, ६ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संक्लन भएको छ । 

सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिँदैन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो ।

आव २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड लक्ष्य रहेकामा ९२.५० प्रतिशत, आव २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलनको लक्ष्य रहेकामा ९०.२४ प्रतिशत, आव २०७९/८० मा १४ खर्ब तीन अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र गत आव २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो ।