काठमाडौँ, ८ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकमा (साउन–कात्तिक) आयातनिर्यातमा सामान्य सुधार आएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्क अनुसार आयात ०.१७ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपियाँको वस्तु आयात भएको छ । गत वर्षको सो अवधिमा पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपियाँको वस्तु आयात भएको थियो ।
यस्तै चालु आवको चार महिनामा निर्यात ४.१६ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपियाँको निर्यात भएको थियो । चार महिनामा कुल वैदेशिक व्यापार पाँच खर्ब ६६ अर्ब ५८ करोड ७४ लाख रुपियाँको भएको छ । गत आवको सो अवधिमा कुल वैदेशिक व्यापारको आकार पाँच खर्ब ६३ अर्ब छ करोड रुपियाँ रहेको थियो ।
चार महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेर चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपियाँको व्यापार घाटा थियो । चार महिनामा छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै वैदेशिक व्यापार भएको छ । विभागका अनुसार भारतबाट चार महिनामा सबैभन्दा धेरै तीन खर्ब १६ अर्ब ८८ करोड बराबर आयात हुँदा नेपालबाट ३५ अर्ब ७६ करोड बराबर सामान निर्यात भएको छ । यस्तै चार महिनामा चीनबाट नेपालमा एक खर्ब तीन अर्ब रुपियाँ बराबरको सामान आयात हुँदा ६८ करोड रुपियाँ बराबरको सामान नेपालबाट चीन निर्यात भएको छ ।
विभागको तथ्याङ्क अनुसार चार महिनामा ८८ अर्ब २६ करोड रुपियाँ बराबर इन्धन आयात भएको छ । ४२ अर्ब ५८ करोड रुपियाँ बराबरको आइरन र स्टिल आयात भएको छ । ३६ अर्ब ९५ करोड रुपियाँ बराबरको विद्युतीय उपकरण र पाट्र्स आयात भएका छन् । यस्तै ३२ अर्ब ७३ करोड सवारीसाधन र १३ अर्ब ३० करोड बराबरको तरकारीजन्य वस्तु आयात भएको छ ।
चार महिनामा नेपालबाट पाँच अर्ब ४६ करोड रुपियाँ बराबरको घिउ तथा तेलजन्य वस्तु निर्यात भएको छ । चार अर्ब ६४ करोड बराबरको कफी र चियाजन्य वस्तु निर्यात भएको देखिन्छ । नेपालले विभिन्न १४२ वटा मुलकसँग वैदेशिक व्यापार गर्दै आएको छ । गोरखापत्र
प्रतिक्रिया दिनुहोस्