राजनीति

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता



कम्बोडिया, १० मंसिर । सभामुख देवराज घिमिरे र कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेटसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।

यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।