काठमाडौँ, ११ मंसिर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौँ ल्याउने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई मंगलबार बिहान जहाजमार्फत काठमाडौं ल्याउने तयारी छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले यही मंसिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । बयान सकिएपछि उनलाई पुनः कास्की नै लागिनेछ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएर पोखरा फर्किइसकेका छन् । उनीसँग यसअघि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले पनि बयान लिएको थियो । कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड १८ लाख ५८ हजार हिनामिना गरेको भन्दै ६ सय ४५ सदस्यले ठगीमा जाहेरी दिएका थिए । सहकारीका तत्कालीन सञ्चालक, कर्मचारी, गोर्खा मिडियाका पदाधिकारीलगायतको मिलेमतोमा बचत अपचलन भएको अनुसन्धानका क्रममा भेटिएको छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडियासहित एक दर्जन कम्पनीमा गैरकानुनी रूपमा रकम प्रवाह भएको पनि खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्