राजनीति

मधेशका सातै वडामा ठूला दलबीचमै प्रतिस्पर्धा



जनकपुर, १२ मंसिर ।  मधेश प्रदेशका सातवटा वडामा अध्यक्ष पदका लागि चुनाव हुँदै छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र रौतहटकै गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो । 

धनुषाधाम–१ मा १२ राजनीतिक दलकासहित २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसबाट अशोकुमार मण्डल, एमालेबाट प्रमोद यादव, माओवादीबाट सुनिलकुमार कापर, जसपाबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल र रास्वपाबाट रामनरेश दासलगायतले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि धनुषाधाम–१ मा उपनिर्वाचन हुँदै छ ।

महोत्तरीको रामगोपालपुर–२ को अध्यक्षमा माओवादीबाट निर्वाचित मुकेशकुमार यादवको गत भदौ ८ मा सवारी दुर्घटनामा मृत्यु भएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदै छ । दिवंगत वडाध्यक्ष यादवकी श्रीमती आइती यादव माओवादीबाटै चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी मैदानमा ८ पार्टीका उम्मेदवार र १२ स्वतन्त्र उम्मेदवार रहेकामा उनी मात्रै महिला हुन् । कांग्रेसबाट मोहम्मद जनिफ, जसपाबाट मोहम्मद नजामुदिन खान, एमालेबाट सकिवुल खाँ, जनमत पार्टीबाट ललिन्द्रकुमार साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खुरसैद खाँ चुनावी प्रतिस्पर्धामा छन् ।

सप्तरीको डाकनेश्वरी–१ मा कांग्रेसबाट निर्वाचित प्रितमलाल चौधरी र वडा ४ मा कांग्रेसकै हरिप्रसाद रायको मृत्युपछि उपनिर्वाचन हुन लागेको हो । डाकनेश्वरी–१ मा ८ उम्मेदवार छन् । कांग्रेसले प्रितमलालकी श्रीमती भुलियादेवी थरुनीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रितमलालसँग ६६ मतले पराजित एमालेका धीरेन्द्रकुमार साह दुई साताअघि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरी उम्मेदवार बनेका छन् ।

रौतहटको गढीमाई–८ मा वडाध्यक्षका लागि दल र स्वतन्त्रबाट १६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट सुबोधकुमार यादव, एमालेबाट जिउतीदेवी यादव, एकीकृत समाजवादीबाट बजरंगीप्रसाद यादव, जसपा नेपालबाट सन्देशप्रसाद यादवले उम्मेदवारी दिएका छन् । कान्तिपुर