राजविराज, १४ मंसिर । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले साझेदारहरूसँग मिलेर लिएको सडक निर्माणको काम अलपत्र परेको छ ।
सप्तरीको राजविराज नगरपालिकाका विभिन्न वडामा सडक तथा नाला निर्माणका लागि अन्य फर्महरूसँग मिलेर लिएको ठेक्काको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्दा पाँच पटकसम्म म्याद थपिँदै गएको छ । सडक र नाला निर्माण अस्तव्यस्त छाडिँदा राजविराजको अवस्था कुरूप बन्दै गएको छ । विभिन्न फर्मसँग संयुक्त रूपमा कन्ट्रक्सनले राजविराजमा सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८१ करोड ३६ लाख ८६ हजार ३ सय ५६ रुपैयाँ ६५ पैसा बराबरका दुईवटा ठेक्का लिएको हो । दुवै ठेक्कामा ६ वर्ष समय बितिसकेको र पटक–पटक म्याद थप गरिँदै आए पनि ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।
राजविराज नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्र, स्तरोन्नतिका लागि डाँफे/कान्छाराम, देव एण्ड सायर जेभी मैजुबहाल काठमाडौंले पहिलो प्याकेज अन्तर्गत भ्याटबाहेक ३९ करोड ७३ हजार ९ सय २६ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । २०७४ पुस १६ गते सम्झौता गरी कार्यादेश पाएको निर्माण कम्पनीले ७ वर्ष पुग्न लाग्दा पनि काम सम्पन्न गर्न सकेको छैन । यो ठेक्काको सम्झौतामा अहिले संघीय सरकारमा राज्यमन्त्री रहेका तामाङले नै हस्ताक्षर गरेका छन् ।
पहिलो पटक तोकिएको म्यादभित्र निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक २०७७ पुस १६ गतेदेखि ०७८ असार १५ गतेसम्मका लागि आयोजना प्रमुखले म्याद थप गरेका थिए । म्याद थप गरिएको उक्त अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०७८ असार १६ गतेदेखि २०७८ चैत २५ गतेसम्म दोस्रो पटक, २०७८ चैत २६ देखि २०७९ चैत २५ सम्म विभागीय प्रमुखद्वारा तेस्रो पटक म्याद थप गरिएको थियो ।
तेस्रो पटक थपिएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि २०७९ चैत २६ देखि २०८२ असार २२ सम्मका लागि विभागीय प्रमुखले म्याद थप गरेका छन् । यो ठेक्कामा रहेका कामको भौतिक प्रगति ६० प्रतिशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनयर राजकुमार मिश्रले बताए । यो ठेक्कामा मन्त्री तामाङको कान्छाराम कन्ट्रक्सनसमेतको कम्पनीले हालसम्म भ्याटबाहेक १८ करोड ८५ लाख ५८ हजार २ सय ४५ रुपैयाँ भुक्तानी पाइसकेको छ ।
राजविराज नगरपालिकाभित्रकै विभिन्न वडामा सडक तथा नाला निर्माणको अर्को ठेक्का कान्छाराम/डाँफे जेभीले ४२ करोड ३६ लाख १२ हजार ४ सय २९ रुपैयाँमा पाएको थियो । २०७५ माघ २१ गते सम्झौता भएको निर्माण कम्पनीले २०७७ साउन २१ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर यो ठेक्काको म्याद अहिलेसम्म पाँचपटक थप भइसकेको छ ।
पहिलोपटक तोकिएको अवधिमा काम पूरा नभएपछि विभागीय प्रमुखले २०७७ साउन २१ देखि २०७७ पुस ५ सम्म पहिलोपटक म्याद थप गरेको थियो । उक्त अवधिमा पनि कार्य हुन सकेन । त्यसपछि आयोजना प्रमुखले २०७७ पुस ६ देखि २०७८ असार ५ सम्म दोस्रोपटक, विभागीय प्रमुखले २०७८ असार ६ देखि २०७८ चैत ३० सम्म तेस्रोपटक, २०७९ वैशाख १ देखि २०७९ चैत ३० सम्म चौथोपटक म्याद थप गरेको थियो । चौथो पटक थपिएको म्यादभित्र पनि कार्य सम्पन्न हुन नसकेपछि विभागीय प्रमुखले २०८० वैशाख १ देखि २०८२ असार ३० सम्म म्याद थप गरेको छ । यो ठेक्कामा निर्माण कम्पनीले हालसम्म २० करोड ७१ लाख ९६ हजार २ सय ७७ रुपैयाँ भुक्तानी पाइसकेको छ ।
दुवै ठेक्कामा राज्यमन्त्री तामाङले नै सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय यो दुवै ठेक्काको निर्माण रोकिएपछि काम अलपत्र परेको हो । विभिन्न स्थानमा सडक र नाला खनेर छाडिएका कारण आवतजावतमा समस्या हुनुका साथै धूलोले राजविराजवासी हैरान छन् । पटक–पटक म्याद थप गर्दै काम सम्पन्न गर्न ताकेता पत्र दिँदा पनि निर्माण कम्पनीले काम गरेको छैन ।
कान्छाराम कन्ट्रक्सनका संचालक पूर्णबहादुर तामाङ संघीय सरकारमा मन्त्री भएपछि अहिले आयोजनाका कर्मचारीहरू डराएर ताकेता गर्न छाडेको एक कर्मचारीले बताए । ‘कारबाही गर्ने निकायमा कारबाही हुनुपर्ने व्यक्ति मन्त्री छन्, कहाँ भन्नु, कसले सुन्छ ?,’ ती कर्मचारीले भने । पछिल्लो समय राज्यमन्त्री तामाङले दीपक थिङ नाम गरेका व्यक्तिलाई यी ठेक्काको आधिकारिक व्यक्ति तोकेको पत्र पठाएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजलाई २०८० चैत १ गते पत्र पठाउँदै तामाङले थिङ नै आफ्नो आधिकारिक व्यक्ति भएको उल्लेख गरेका थिए ।
एक वर्षदेखि कान्छाराम कन्ट्रक्सनले यी ठेक्कामा काम गरेको छैन । तोकिएको समयमा यो दुवै ठेक्काको कार्य सम्पन्न हुन नसक्दा अहिले नगरपालिकाको बाटोघाटो अस्तव्यस्त भएको राजविराज नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष जयनारायण मण्डलले बताए । ‘हामीले जनताको गाली सुन्दै हिँड्नु परेको छ । काम अधुरो गरेर छोडिएका कारण आवतजावतमा त समस्या छ नै, प्रदूषण बढ्नुका साथै सवारी दुर्घटना समेत बढेको छ,’ उनले भने, ‘संघीय सरकारले टेन्डर लगाएको योजनामा हामी बजेट खर्च गर्न सक्दैनौं । सडक त्यत्तिकै छोडिएको छ, नालामाथि सल्याब नहालिएका कारण नगरपालिका क्षेत्र अहिले अस्तव्यस्त बनेको छ ।’
आफूहरूले पटक–पटक सघन सहरी तथा भवन निर्माण आयोजनामा भन्दा भन्दै थाकिसकेको उनले बताए । ‘अब केही दिनमा गर्छ, दसैं, छठपछि यो महिनाबाट केही दिनभित्रै गर्छ जस्ता आश्वासन सुन्दै पाँच वर्ष बित्यो,’ मण्डलले भने, ‘तर अधुरो काम पूरा गर्नेतर्फ सिन्को भाँचिएको छैन, नगरलाई अस्तव्यस्त बनाएर नागरिकलाई सास्ती दिने काम मात्रै भएको छ ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्