अर्थ

मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन : अर्थमन्त्री पाैडेल



काठमाडौँ, १५ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताएका छन् । 

रुपन्देही उद्योग संघको ४७औँ वार्षिकोत्सव एवं औद्योगिक दिवसको अवसरमा बुटवलमा गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगीकरणमा फड्को मार्न नसक्नु कमजोरी भएको स्विकार्दै अब तीव्र गतिमा त्यसतर्फ जानुपर्ने बताए । उनले स्थिर सरकारले गर्दा यो सम्भव हुने बताए । यो सरकार २०८४ सम्म नै टिक्ने उनले समेत दाबी गरे ।

उनले सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए । औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको थियो ।

सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरूको आयोग बनाएर उनीहरूका सुझावका आधारमा अघि बढेको र  आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने बताए । उनले राजस्व चुहावटका बेथितिहरू सबै क्रमशः सुधार गर्ने दिशामा सरकार गइरहेको बताए।