काठमाडौँ, १६ मंसिर । जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।
मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मतदानस्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्