काठमाडौँ, १६ मंसिर । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
उनले भने, “मंसिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ,” “स्थानीय तह उपनिर्वाचन २०८१ मंसिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।”
प्रतिक्रिया दिनुहोस्