भैरहवा, १७ मंसिर । स्वदेशमै मल उत्पादन गरेर किसानलाई घरदैलोमा आपूर्ति गर्ने उद्देश्यले ३० करोड लगानी गरेर रूपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन गरिएको छ ।
कोरोना महामारीका बेला भारतबाट आयात ठप्प भएपछि मलका लागि किसान भौंतारिनुपरेको थियो । उक्त छटपटी देखेर जिल्लास्थित रोहिणी गाउँपालिका–४ कोटहवामा मल उद्योग सञ्चालनमा ल्याइएको लगानीकर्ताले बताए । ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले अर्गानिक मलको व्यावसायिक उत्पादन थालेको हो । उद्योगका उत्पादन बजारमा उपलब्ध हुन थालेपछि किसानले राहत महसुस गरेका छन् । भैरहवाका उद्यमी दम्पती सिद्धार्थ र पुनमकुमारी अग्रवालले अर्गानिक मल उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योग ५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
३० करोड रुपैयाँ लगानी गरेर ‘रत्नम अर्गानिक दानेदार मल’ बजारमा ल्याइएको सञ्चालक तथा उद्योगका अध्यक्ष सिद्धार्थ अग्रवालले जानकारी दिए । ‘मलमा सबै तत्त्वको आवश्यक घुलन रहेको छ,’ उनले भने, ‘विज्ञमार्फत परीक्षण गरिएकाले यसले कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।’
जिल्लामा आर्थिक मन्दीलगायत कारणले उद्योग धमाधम बन्द भइरहेका छन् । यस्तो बेला पनि मुलुकको मल अभाव कम गर्न उद्योगमा लगानी गरेको अध्यक्ष अग्रवालले बताए । अहिले उद्योगले लुम्बिनी, गण्डकी, वाग्मती र मधेशका किसानलाई लक्ष्य गरेर उत्पादन बजारमा पुर्याइएको जनाएको छ । अग्रवालका अनुसार उद्योगको उत्पादन क्षमता दैनिक २ सय टन छ । बजारको मागलाई दृष्टिगत गरी अहिले दैनिक १ सय टन मलको उत्पादन गर्दै आएको छ ।
‘उत्पादन क्षमता दैनिक २ सय टन हो,’ उनले भने, ‘नयाँ उद्योग भएकाले बजार विस्तार भएपछि उत्पादन पनि बढ्दै जान्छ ।’ अहिले विभिन्न प्रदेशमा एक सयभन्दा बढी स्थानमा डिपो खोलेर मल बिक्री गरिरहेको उनले जनाए । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सूचीकृत गरेर मल उत्पादन गरिरहेको सञ्चालकले बताए । ‘कोरोनाकालमा मल अभाव र वस्तु आयातमा देखिएको समस्याले हामीलाई मल उद्योग खोल्न प्रेरणा मिलेको हो,’ उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले भनिन्, ‘त्यसपछि हामीले उद्योग निर्माण गर्न थाल्यौं ।’
एक वर्ष सरकारबाट स्वीकृत लिनै समय लाग्यो । त्यसपछि मलको उत्पादकत्व परीक्षणमा एक वर्ष समय लागेको उनको भनाइ छ । उत्पादन बढाउन सफल देखिएपछि मल बजारमा पठाउन सुरु गरिएको उनले बताइन । रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको गुणस्तरलाई माथि उकास्न र उत्पादन बढाउन रत्नम अर्गानिक दानेदार मल फलदायी हुने उनको दाबी छ ।
कौसी तथा करेसाबारीमा लगाइने तरकारी खेतीदेखि धान, गहुँ, मकैसहित अन्य व्यावसायिक मुख्य खाद्य बाली दाल, प्याज, लसुन, फूल, फलदार रुख, तेलहन, उखु चिया बगान जस्ता नगदेबालीलाई लक्ष्य गर्दै मल उत्पादन गरिएको हो । उत्पादित मल ५, २५ र ५० किलो तौल प्याकेजिङमा उपलब्ध छ ।
एक वर्षअघि उत्पादन थालेको उद्योगले पहिलो वर्ष उद्योग परिसर, आसपासका पालिकाका साथैं स्थानीय कृषकको खेतमा मलको परीक्षण प्रयोग गरेको जनायो । उक्त परीक्षण सफल भएपछि मात्रै बिक्री सुरु गरिएको प्रबन्ध निर्देशक अग्रवालले बताइन् । मुलुकमा बर्सेनि मलको अभाव हुने र रासायनिक मलको प्रयोगबाट माटोको उर्वराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई दृष्टिगत गर्दै ठूलो परिमाणमा अर्गानिक मलको व्यावसायिक उत्पादन थालिएको अग्रवालले जनाइन् ।
‘कृषिप्रधान मुलुक नेपालमा मलका लागि जहिले पनि विदेशसँग निर्भर रहनुपर्छ र एक बोरा मलका लागि किसान दिनभरि लाइनमा बस्नुपर्ने बाध्यता छ,’ उद्योगका अध्यक्ष अग्रवालले भने, ‘जसका कारण मलका लागि बर्सेर्नि अर्बौं रुपैयाँ बिदेसिने गरेको तथ्यलाई हेरेर हामीले यहाँ अर्गानिक मलको व्यावसायिक उत्पादन सुरु गरेका हौं ।’ मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण छ । रासायनिक मलको तुलनामा रत्नम अर्गानिक मलको मूल्य धेरै सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।
‘रासायनिक मललाई बिस्तारै विस्थापित गर्दै जाने लक्ष्य हाम्रो हो,’ उनले भनिन्, ‘हाम्रो उत्पादनलाई स्थानीय किसान र सीमावर्ती भारतीय किसानबाट समेत ठूलो माग आउन थालेको छ ।’ उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४ सय रुपैयाँ पर्ने गरेकामा रत्नम अर्गानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँ मात्र छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्