काठमाडौँ, १८ मंसिर । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन् । आफ्नो पूर्ववत् स्थान जोगाउनुभन्दा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेको थियो ।
पुथा उत्तरगंगामा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको रूख चिह्न लिएर उम्मेदवार बनेकी थिइन् । माओवादीको गढ तोड्न सूर्य चिह्नमा कांग्रेसको मत रूपान्तरण नहुने डरले एमालेले कांग्रेसको चुनाव चिह्न स्वीकार गरेको थियो । कांग्रेस–एमाले गठबन्धन उम्मेदवारलाई एक्लै पराजित गरेपछि माओवादीले त्यसलाई प्रतिष्ठाको विषय बनाएको छ । मोरङको ग्रामथान गाउँपालिकामा कांग्रेसको विरासत तोडेर माओवादीले जित्यो । माओवादीका नमोनारायण माझीले कांग्रेसका बलराम सरदारलाई पराजित गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै त्यस क्षेत्रका सांसद अमनलाल मोदी र विजयी भएका माझीलाई बधाई दिन भ्याए ।
जाजरकोट नलगाडमा कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहलाई पराजित गरी माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन् । यसअघि जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि जोगाएको छ । २०७९ को स्थानीय तह निर्वाचनपछि विभिन्न तह (जिल्ला संयोजक, प्रमुख, उपप्रमुख र वडाध्यक्ष) का खाली भएका ४४ स्थानमध्ये माओवादीले जितेका ८ स्थान खाली भएका थिए । माओवादीले एक अध्यक्ष, तीन उपप्रमुख र ७ वडाअध्यक्षसहित ११ स्थान जितेको छ । निरन्तर सत्ता मोहका कारण माओवादीप्रति मतदाताको चर्को आलोचना बढिरहेका बेला एक पालिका उपाध्यक्ष जोगाउँदै यो उपनिर्वाचनमा थप दुई पालिका मोरङको ग्रामथानमा अध्यक्ष र नलगाडमा उपप्रमुख जितेपछि माओवादी उत्साहित भएको छ । गत स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये १२१ पालिका जितेर माओवादी तेस्रो भएको थियो ।
उपनिर्वाचनको मत परिणाम आएसँगै माओवादी अध्यक्ष दाहालले ‘सकारात्मक सन्देश’ भनेका छन् । ‘यो उपनिर्वाचनले पार्टीप्रति विश्वास बढेको र आगामी दिनका लागि सकारात्मक सन्देश दिएको छ,’ दाहालले सचिवालय सदस्यहरूसँगको छलफलमा सोमबार बेलुका भने, ‘यसअघि हामीले जितेका वडाहरू जोगाउन सकेको भए अझ राम्रो हुन्थ्यो, त्यहाँ केही कमजोरी रह्यो ।’ माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेले दुईदलीय राजनीतिक प्रणालीमा लाने कसरत गरिरहेका बेला माओवादी अपरिहार्य शक्ति भएको पुष्टि भएको बताए । ‘दुई पार्टी भएको राजनीतिक प्रणालीमा लाने भन्ने कांग्रेस–एमालेका नेताको योजनालाई उपनिर्वाचनमा जनताले दिएको जवाफ हो यो,’ उनले भने, ‘माओवादी यो मुलुकको अपरिहार्य शक्ति हो ।’
उनले गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि अपेक्षित परिणाम नआएका क्षेत्रमा यस पटक एक्लाएक्लै चुनाव लड्दा पनि जनताले माओवादीलाई जिताएको बताए । ‘सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने मान्यतालाई यो मत परिणामले गलत सावित गरिदियो,’ उनले भने, ‘पार्टी आफ्नो खुट्टामा उभियो भने जनताले विश्वास गर्छन् भन्ने देखियो, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने आधार स्पष्ट देखियो ।’ दाहाल नेतृत्वको सरकारले ‘सुशासन, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको कामले जनतामा आशा जागेको’ उनको बुझाइ छ । उनले विगतमा जितेका स्थानमा हार्नुको कारणबारे आगामी बैठकमा समीक्षा गर्ने बताए ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले माओवादीका आधार भत्किनसकेको संकेत देखिएको बताए । ‘माओवादी सत्तामै भएको भए यी स्थानमा मत पाउन मुस्किल थियो । उपनिर्वाचनको जनादेशले सत्ताबाहिर बसेर संगठन बनाऊ भनेर सन्देश दिएको छ,’ उनले भने, ‘माओवादीको सपोर्ट बेस छ भन्ने देखिन्छ ।’ उनले एक्लै चुनाव लड्दा माओवादीको नेतृत्वमा समस्या भए पनि आधार अझै जीवित भएको देखिन्छ । ‘माओवादी माथि सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ, बेस बिग्रेको होइन, माथि बिग्रेको हो,’ उनले थपे ।
गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको जाजरकोट नलगाड नगरपालिकामा उपप्रमुखमा माओवादीले जित हात पार्यो । त्यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष कांग्रेसबाट खोसेर माओवादीले लगेको छ । कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै रुकुम पूर्व पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीले जितेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा वडातर्फ त्रियुगा नगरपालिका–१२ उदयपुरमा कांग्रेसको स्थानमा माओवादीले जितेको छ । धनुषाधाम नगरपालिका–१ धनुषा माओवादीले कांग्रेसबाट खोसेको छ । त्यस्तै ककनी पापा–२ नुवाकोटमा माओवादीले कांग्रेसलाई पराजित गर्यो भने गोरखा नगरपालिका–५ मा एमालेलाई हराएर माओवादीले जितेको छ । पुथा गापा–२ रुकुम पूर्वमा माओवादी निर्विरोध भएको थियो । त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पामा माओवादीले एमालेलाई पराजित गरेको छ । माओवादीले विगतमा ६ वटा वडा जितेकामा योपल्ट एक वडा अध्यक्ष थपेको छ । यसलाई माओवादीले सकारात्मक सन्देशका रूपमा लिएको छ ।
काठमाडौं–१६ मा रास्वपा
रास्वपाले काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा जित हासिल गरेको छ । यो जितसँगै स्थानीय सरकारमा पनि रास्वपाको सहभागिता हुन पुगेको छ । स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दिएकामध्ये अधिकांश स्थानमा निराशाजनक मत पाएको रास्वपा काठमाडौं–१६ मा भने विजयी भएको हो । रास्वपाले ४१ पदमध्ये २६ वटामा उम्मेदवारी दिएको थियो । अन्यत्र भने रास्वपाले निकै कम मत पाएको छ । अधिकांशमा रास्वपाले जमानत समेत जोगाउन सकेन ।
काठमाडौं–१६ को अध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर जित हासिल गरेकी हुन् । एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर २ हजार २ सय २० मत ल्याएर दोस्रो भए भने कांग्रेस उम्मेदवार देवेन्द्र पाठक २ हजार २ सय १४ मत ल्याएर तेस्रो भए । एसका मीनबहादुर मानन्धरले ६ सय ५१ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६ सय २२ मत ल्याए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३ सय १४ मत प्राप्त गरे । २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं १६ मा कांग्रेस विजयी भएको थियो । कांग्रेसका उम्मेदवार मुकुन्द रिजालले ४ हजार १९ मत ल्याएका थिए भने एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत ल्याएका थिए । रिजाल तत्कालीन सत्ता गठबन्धन कांग्रेस र माओवादीका तर्फबाट उम्मेदवार थिए ।
रास्वपाले यो जितलाई पुराना दलप्रति जनताको असन्तुष्टि, रास्वपाले जनतामा जगाएको राजनीतिप्रतिको विश्वाससँगै सत्ता सञ्चालन गरिरहेका दलहरूको कुशासनविरुद्ध जनताको मतका रूपमा व्याख्या गरेको छ । काठमाडौं– १६ मा प्राप्त जित जागरुक र स्वतन्त्र मतदाताले गरेको ‘मत परिवर्तन’ भएको रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले बताए । काठमाडौं महानगरपालिका– १६ रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट सांसदसमेत रहेका पराजुलीले सचेत जनताले कर तिरेपछि सम्मानसहित सेवा दिने उम्मेदवारलाई निर्वाचित गरेको बताए । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्