बागलुङ, १८ मंसिर । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको हो ।
दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिनुहुन्छ । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गर्नुभएका उहाँको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् ।
छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गर्नुभएको थियो । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाउनुभएको थियो ।
जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उहाँलाई कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई उहाँकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गर्नुभएको छ ।
दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका बस्नेतले मासिक रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्