राजनीति

उद्योगमन्त्रीद्वारा भारतमा पेट्रोलियम पाइपलाइन लगायतका विषयमा छलफल



काठमाडौँ, १८ मंसिर । भारत भ्रमणको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पाइपलाइन, बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने लगायतका विषयमा छलफल गरेका छन् । 

उनले भारतीय विदेश मन्त्री यश जयसंकरसँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गरेका छन्। विदेशमन्त्री जयसंकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाए । 

मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने बताइएको छ । उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुने उनको सचिवालयले जनाएको छ । 

भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानमा विषयमा समेत छलफल गरेका छन्। यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ ।