अर्थ

९ समझदारी, ९ अर्ब सहायता घोषणा



बेइजिङ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ । 

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार भएको भेटवार्तापछि विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग दिने घोषणा गरेका छन् । ‘हस्ताक्षर भएका आयोजना बीआरआईअन्तर्गत अघि बढाइनेछ,’ भ्रमणमा संलग्न प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले भने, ‘राष्ट्रपतिबाट घोषणा भएको सहयोग छुट्टै हो ।’

उक्त रकम नेपालले बजेटरी सहायताका रूपमा लिने जनाइएको छ । नेपाल र चीनबीचको पहिलो सहमति टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ । ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक अधिकारीले चीनसँग आयोजनागत रूपमा मात्रै सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको बताए । ‘यी आयोजनाको कार्यान्वयन बीआरआईअन्तर्गत नै हुने भनिएको छ,’ ती अधिकारीले भने । समझदारीपत्रमा भने ती आयोजना बीआरआईअन्तर्गत हुने भन्नेबारे केही उल्लेख छैन । यसबारेमा नेपाली अधिकारीहरूले पनि स्पष्ट पारेका छैनन् । नेपालले बीआरआईअन्तर्गत रहने गरी एक दर्जन आयोजना चिनियाँ अधिकारीसमक्ष पेस गरेको थियो । त्यसमध्ये टोखा–छहरे सुरुङमार्गमा मात्रै सहमति भएको छ ।

नेपालले अनुदानका लागि प्रस्ताव गरेका आयोजनामा हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकमा चीन–नेपाल औद्योगिक मित्रपार्क र झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स थिए ।

सहमति र समझदारीपत्रमा हस्ताक्षर भएपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । उनीहरू दुईबीच मात्रै करिब २० मिनेट छलफल भएको थियो । छलफलपछि चिनियाँ राष्ट्रपतिले नेपाललाई ५ सय मिलियन आरएमबी सहयोगको घोषणा गरेका थिए । द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा सी र ओलीबीच कुराकानी भएको परराष्ट्रका प्रवक्ता ढकालले जानकारी दिए । ‘राष्ट्रपति सीले चीन र नेपाल पुराना असल छिमेकी र मित्रराष्ट्र भएको बताउनुभयो । दुई मुलुकबीच आपसी सद्भाव, सम्मान र सहयोग रहेको पनि उल्लेख गर्नुभयो । नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने पनि उहाँको भनाइ थियो,’ उनले भने ।

ढकालका अनुसार सीले नेपाली वस्तु चिनियाँ बजारमा उपलब्ध गराउन थप सहजीकरण गर्ने, चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने पनि बताएका थिए । भेटवार्तामा ओलीले दुई मुलुकबीच आपसी समझदारी र विश्वास रहेको बताएका थिए । ‘प्रधानमन्त्री ओलीले छोटो समयमा चीनले गरेको विकास र गरिबी निवारणलाई लिएर प्रशंसा गर्नु भयो । अहिलेको सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक विकास र रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो,’ ढकालले कान्तिपुरसित भने, ‘प्रधानमन्त्रीले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग थप सहयोग र साझेदारी गर्न चाहेको उल्लेख गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङ दुवैलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । ओलीले सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट भ्रमणको निम्तो दिएका हुन् । ‘प्रधानमन्त्रीज्यूले नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षको उपलक्ष्यमा सन् २०२५ मा राष्ट्रपति पौडेलका तर्फबाट चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो,’ प्रवक्ता ढकालले भने । उनका अनुसार राष्ट्रपति सीले निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए । ‘राष्ट्रपति सी र प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ,’ ढकालले भने ।

प्रधानमन्त्री ओलीले मंगलबारै चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी लीको निमन्त्रणामा चारदिने भ्रमणका लागि सोमबार बेलुकी बेइजिङ आइपुगेका हुन् । ३९ सरकारी प्रतिनिधि र ४८ निजी क्षेत्रका सहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर विमानबाट आएका ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए ।

गत असार ३० मा चौथो पटक प्रधानमन्त्री बनेयता ओलीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनी यसअघि बहुपक्षीय संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्युयोर्क गएका थिए । ओलीले बुधबार पेकिङ विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यही दिन नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ । कान्तिपुर