काठमाडौँ, २० मंसिर । प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेर निगरानी र नियन्त्रण बढाउन थालेका हुन् ।
ऊर्जामन्त्री खड्काले बुधबार प्राधिकरण गएर कुर्सीमा बसे । मन्त्रीलाई प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्वागत गरे । उक्त ‘समारोह’ मा ऊर्जा सचिव सुरेश आचार्य र मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारी पनि उपस्थित थिए । प्राधिकरणका प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक तुलराम गिरीको कार्यकक्ष र सचिवालय हटाएर मन्त्री खड्काको कार्यकक्ष बनाइएको हो ।
सञ्चालक समितिको बैठक प्राधिकरणमा हुने र कहिलेकाहीँ समयभन्दा छिटो पुग्दा वा ब्रिफिङ लिनुपर्दा बस्ने ठाउँ नै नभएकाले कार्यकक्ष बनाएको मन्त्री खड्काको भनाइ छ । बुधबार कार्यकक्षमा बस्न सुरुवात गर्दै उनले सञ्चारकर्मीसँग भने, ‘प्राधिकरणको बैठकमा आउँदा कहिलेकाहीँ समयभन्दा छिटो आउँछु । कहिले ब्रिफिङ लिनुपर्छ । तर बस्ने ठाउँ नै भएन । त्यसैले कार्यकक्ष बनाइदिनु भनिएको हो । उहाँहरूले बनाइदिनु भएछ ।’
कार्यकारी निर्देशक घिसिङ उद्योगको लाइन काटेर भए पनि बक्यौता उठाउन अग्रसर छन् भने मन्त्री खड्का प्राधिकरणले दिएको बिलको वैधतामाथि प्रश्न उठाउँदै उद्यमीमाथि जबर्जस्ती गर्न नमिल्ने तर्क गर्दै आएका छन् । विवाद पेचिलो बन्दै जाँदा पछिल्लो साढे चार महिनामा मन्त्रीले कार्यकारी निर्देशक घिसिङसँग दुई पटक स्पष्टीकरण सोधिसकेका छन् ।
मन्त्रिपरिषद् र विद्युत् नियमन आयोगले काटिएको बिजुली जोड्न निर्देशन दिएपछि पछिल्लो समय लाइन जोडिएका छन् । तर प्राधिकरणले जारी गरेको बिलमाथि छानबिन गर्न ऊर्जा मन्त्रालयले समिति नै बनाएको छ । त्यस्तै प्राधिकरणमा भएको अनियमितता छानबिन गराउने भनेर मन्त्रिपरिषद्ले समिति गठन गरेको समाचार पनि सार्वजनिक भएको थियो । यद्यपि समितिका संयोजक पूर्वन्यायाधीश हरिप्रसाद पोखरेलले ‘आफ्नो व्यक्तिगत कारणले’ समितिमा नबस्ने जानकारी गराइसकेका छन् ।
ऊर्जा मन्त्रालयले मागेका सबै विवरण प्राधिकरणले नबुझाएको मन्त्रीको भनाइ छ । त्यस्तै प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानकितामाथि नै घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेर निगरानी र नियन्त्रण बढाउन थालेका हुन् ।










प्रतिक्रिया दिनुहोस्