राजनीति

दिगो, आधुनिक विकास निर्माण आवश्यक : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज काठमाडौँमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताए । विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको  खोजी आजको चुनौती रहेको रहेको समेत बताए ।

उनले भने, ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनर्संरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ ।’