काठमाडौँ, २१ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् ।
विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले भनेका छन्, “विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस् ।”
खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ । यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ । यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्