राजनीति

प्रहरी र अदालतविरुद्ध खनिए मेयर साम्पाङ



सुनसरी, २१ मंसिर । आफ्नो ‘मनमौजी’ कार्यशैलीका विषयमा समाचार लेख्ने पत्रकारलाई फेसबुकमार्फत धम्की दिएर आलोचना खेपिरहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्रहरी र अदालतविरुद्ध पनि खनिएका छन् ।

धरानमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले पत्रकारलाई दिएको धम्कीको बचाउ गर्दै आफूले बेथिति अन्त्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको बताएका छन् । पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘मेयर साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यसपछि साम्पाङले बुधबार सामाजिक सञ्जालमा दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नामै तोकेर धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रिन टीमा हाजिर हुनू । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए ।

समाचार सत्य नभए कानुनी प्रक्रियामा नगई किन धम्की दिएको भन्ने प्रश्नमा साम्पाङले आफूलाई अदालत र प्रहरी प्रशासनप्रति विश्वास नभएको जवाफ दिए । आफूले बेथिति अन्त्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको अवस्थामा कानुनी उपचार नखोजेको उनको भनाइ थियो । ‘धरानमा श्रममा मात्र सुधार भएको छैन, शिक्षामा सुधार भएको छ, स्वास्थ्यमा सुधार भएको छ । कर्मचारी अनुशासित छन्, एक रुपैयाँ तलमाथि हुनेबित्तिकै निकाल्ने गरेको छु,’ साम्पाङले भने, ‘अदालत र प्रहरीले साथ दिने हो भने दलाल फटाहाहरूलाई एक दिनमा तह लगाउँछु तर मलाई अदालत र प्रहरीले भनेजस्तो सहयोग गरेका छैनन् ।’ उनले कानुनको ठेली बोक्नेहरू नै स्वतन्त्र मेयरको पक्षमा नभएको टिप्पणी गरे ।

पत्रकार महासंघ सुनसरीमा बिहीबार भेला भएका सञ्चारकर्मीले बारम्बार धम्कीपूर्ण अभिव्यक्ति नदिन साम्पाङलाई चेतावनी दिएका छन् । अन्य संघसंस्थाले पनि पत्रकारप्रति पटकपटकको धम्कीले लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।