काठमाडौँ, २१ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् ।
रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ,’ ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’
भेटका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजाज आफूलाई आग्रह गरेको भट्टराईले बताए ।
‘उहाँ (रवि) ले म माथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैं लड्छु र बोल्छु भनेको छु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्