काठमाडौँ, २२ मंसिर । अण्डाको मूल्य फेरि बढेको छ ।
आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको हो । ठूलो अण्डाको फाम मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको चार सय ७० र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य बढेको बताए ।
यसअघि अण्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो । मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य बढेको बताए । दैनिक २२ लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्