काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ ।
सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् ।
सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।
प्रतिक्रिया दिनुहोस्