काठमाडौँ, २३ मंसिर । नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय भारतले २०२४ जुनसम्म मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो । यस पटक पनि प्राधिकरणले करिब ४ महिनाअघि नै अनुमति नवीकरण गर्न भारतलाई पत्राचार गरेको थियो । तर अनुमति नवीकरण गरिदिएको थिएन । हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । बर्खायाममा भारत र बंगलादेशलाई बिजुली बेच्ने नेपालले हिउँदमा भने भारतमै भर पर्नुपर्ने अवस्था छ । जलाशययुक्त आयोजना नभएकाले हिउँदमा अझै केही वर्ष भारतकै भर पर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
हरेक वर्ष अपुग बिजुली भारतबाट आयात गर्न भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता भएको छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । करिब १५ दिनअघि नै भारतबाट बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हिउँदभर बिजुली आयात गर्न पाउने गरी भारतले करिब १५ दिनअघि नवीकरण गरिदिएको छ,’ उनले भने, ‘भारतले पिकआवरमा बिजुली आयात गर्ने अनुमति दिएको छैन, दिउँसो र राति १० बजेपछि मात्रै दिएको छ ।’
भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको छ । ‘आगामी मार्च १५ सम्म साँझ ५ देखि राति ९ बजेसम्म आयात गर्न पाइँदैन, तीबाहेक हरेक समय आयात गर्न पाउँछौं,’ घिसिङले भने, ‘त्यसपछि बिहान ६ देखि बेलुका ६ बजेसम्म बिजुली आयात गर्न पाउँछौं ।’ प्राधिकरणका अनुसार भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र ३३ केभी टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।
प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट समेत बिजुली आयात गर्न अनुमति मागे पनि दिइनसकेको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए । ‘ढल्केबर र टनकपुरबाट ६५४ मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं, त्यो पाइसक्यौं,’ उनले भने, ‘यसबाहेक १३२ केभी प्रसारण लाइनबाट करिब ६ सय मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं । त्यो आएको छैन ।’
यस वर्ष डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने प्राधिकरणले जनाए पनि पहिलो सातादेखि नै सुरु भएको छ । अधिकतम सय मेगावाटसम्म बिजुली आयात सुरु भइसकेको ढकालले जनाए । ‘साँझ ५ देखि राति ९ बजेसम्म बिजुली आयात गर्न भारतले दिँदैन,’ उनले भने, ‘अन्य समयमा अलिअलि आयात गरिरहेका छौं ।’ १३२ केभी कटैया (भारत)–कुशवा (नेपाल), रक्सौल–परवानीपुर, मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) र गण्डक (नेपाल)– रामनगर (भारत) प्रसारण लाइनबाट समेत ६ सय मेगावाट बिजुली आयात गर्न भारतसँग अनुमति मागेको समेत ढकालले बताए ।
‘१३२ केभीका चार वटा प्रसारण लाइनको क्षमताअनुसार ६ सय मेगावाट माग गरिएको हो, अहिलेसम्म अनुमति दिएको छैन,’ उनले भने, ‘अर्को सातासम्म अनुमति दिन्छ कि भन्नेछ ।’ भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन ०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ ।
हरेक वर्ष भारतले एक वर्षभरका लागि अनुमति नवीकरण गर्ने भए पनि पछिल्लो पटक भारतले म्याद सकिनुभन्दा तीन दिनअघि (०८० चैत १५) मात्रै तीन महिनाका लागि मात्रै नवीकरण गरिदिएको थियो । यस पटक भने आगामी जुनसम्म अनुमति नवीकरण गरिदिएको प्राधिकरणले जनाएको छ ।
नेपालले भारतको प्रतिस्पर्धी बजारबाहेक महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट बिजुली आयात गर्न सकिने व्यवस्था छ । नेपालले महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइनबाट वार्षिक ७ करोड युनिट निःशुल्क बिजुली पाइन्छ । सन् २०२४ का लागि मार्च ११ मा बसेको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकिसकेको छ ।
१३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकेको प्राधिकरणले बताएको छ । बैठकले ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य पनि प्रतियुनिट दर ८.६५ भारु (१३ रुपैयाँ ८४ पैसा) तोकेको छ ।
नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले जनाएको छ । तर यो मूल्य डिसेम्बर अन्तिमसम्म मात्रै लागू हुनेछ । सन् २०२५ का लागि पीईसी बैठक बसेर फेरि बिजुलीको प्रतियुनिट दर तोक्नुपर्नेछ । भारतको प्रतिस्पर्धी बजार, महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) अन्तर्गत हुने व्यापारबाहेक पनि सुक्खायाममा २ सय ३० मेगावाट विद्युत् आयातका लागि गत असोज १७ मा द्विपक्षीय सम्झौतासमेत भएको थियो ।
हरेक वर्ष फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच उक्त सम्झौता भएको थियो । यसअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रतियुनिट भारु ७.५ का दरले २ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ३० मेगावाट बिजुली चौबीसै घण्टा आरटीसी (राउन्ड द क्लक प्रणाली) उपलब्ध हुनेछ ।
गत असोजमा आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजनामा ठूलो क्षति पुगेको छ । दिनभर पानी जम्मा गरेर माग उच्च भएका बेला बिहान र साँझमा बिजुली उत्पादन गर्न सकिन्थ्यो । तर अहिले बाढीले क्षति पुर्याएपछि बिजुली उत्पादन ठप्प छ । यद्यपि आगामी पुस १० सम्म आंशिक रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्