काठमाडौँ, २३ मंसिर । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीका अनुसार भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्