समाचार

स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको हो । 

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका छन् ।

मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।