काठमाडौँ, २४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।
पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । “फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उनले भने । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्