समाचार

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य 




काठमाडौँ, २५ मंसिर । कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपील)मा चितवन राइनोजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

कप्तान रोहितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहितको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।

साद बिन जफरले ५२ रन थपे । उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ४९–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७१ बलमा ११४ शतकीय रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए ।


लुम्बिनीले त्यसअघि ओपनर अर्जुन साउदलाई १५ र टम मुरेसलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । अर्का ओपनर आशुतोष घिरैयाले एक रन थप्दा उन्मुक्त चन्द ‘डक’ भए ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । रिजनले लुम्बिनीका ओपनर आशुतोष, उन्मुक्त र रोहितको विकेट लिए ।


कप्तान कुशल मल्ल र रन्जीत कुमारले समान एक विकेट लिए । कुशलले टम मुरेस र रन्जीतले अर्जुन साउदको विकट लिएका हुन् ।

लुम्बिनी प्रतियोगितामा जितविहीन एक मात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार व्यहोरेको थियो ।

यसैकारण प्रतियोगिताको प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।