राजनीति

महानगरद्वारा १० स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कारसहित सम्मान



काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवका अवसरमा १० स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

शनिबार टुँडिखेलमा कामपाद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनीता डंगोललगायत अधिकारीको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई सम्मान गरिएको हो ।

लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाजसेवातर्फबाट कामपाका पूर्वप्रमुख पीएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।


खेलतर्फ तेक्वान्दोकी संगीना वैद्य, भलिबलकी प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएको कामपाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । 

समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका निम्ति प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहोर संकलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।

शनिबार बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमुना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ ।