काठमाडौँ, ३० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् ।
उँधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरे ।
राष्ट्रपति पौडेलले किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उँधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरे ।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भने, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।”
राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उँधौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्