राजनीति

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : अध्यक्ष दाहाल



काठमाडौँ, ३० मंसिर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा उनले विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताए । 

किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गरेका छन् ।

कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् ।