काठमाडौँ, ३० मंसिर । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।
“आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ”, प्रवक्ता महतले भने । पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । “विश्व बैंक, एसियन विकास बैंक (एडीबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ”, उनले भने, “विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।”










प्रतिक्रिया दिनुहोस्