राजनीति

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन् : अर्थमन्त्री पौडेल



काठमाडौँ, १ पौष । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।

आज अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले सरकारले लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने गरी काम गरिरहेको बताए ।

उनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीको मनोबल उच्चरूपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएको पनि दाबी गरे ।

“वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढंगले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरू चाल्दै छ । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन्,” उनले भने ।