काठमाडौँ, ४ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
दक्षिण कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । सो कार्यक्रममा उहाँले आग्रह गर्दै भन्नुभयो, “तपाइँहरुले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ती ढुक्क भएर नेपालमा सदुपयोग गर्नुस्, नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।”
साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गैर आवासीय नेपालीहरुले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफुहरु तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भ्रमण दलमा रहनुभएका उहाँका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्