राजनीति

रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु : डा. निकोलस भुसाल



काठमाडौँ, ४ पौष । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् ।

यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए ।

बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।

रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । भुसालले एक भिडियोमा भनेका छन्, ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’

उनले भनेका छन्, ‘मैले भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण दिएका छन् ।