Banner News

जीबीसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता



काठमाडौँ, ५ पौष । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई ( जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।

अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।