काठमाडौँ, ६ पौष । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदै छ ।
उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।
जनकपुरविरुद्ध लिग चरणमा जित निकाल्ने दुईमध्यको एक टोली हो, सुदूरपश्चिम । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले लिगमा जनकपुरविरुद्ध ७२ रनको जित निकालेको थियो । यी दुवै टिमले हार भने चितवन राइनोजविरुद्ध व्यहोरेका थिए । प्रतियोगिताको शीर्ष दुई टोलीलाई हराएको चितवनले भने इलिमिनेटरबाट माथिको यात्रा तय गर्न सकेन ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो बहुप्रतिक्षित खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।










प्रतिक्रिया दिनुहोस्