समाचार

थुनामुक्त गराइदिन्छु भन्दै रकम असुली गर्ने ३ जना पक्राउ



काठमाडौँ, ६ पौष । प्रहरीको थुनामा रहेका थुनुवालाई मुक्त गराइदिने भन्दै रकम असुली गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका १ बाट लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका एक थुनुवालाई थुनामुक्त गराइदिन्छु भनी परिवारजनबाट रकम असुली गरेको आरोपमा गौरीगंगा नगरपालिका ७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँदलाई पक्राउ गरेको हो ।

उनीहरुले थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिएका थिए ।  अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।